झापामा सौर्य उर्जाबाट विद्युत उत्पादन सुरु

दमक, पुस ११ गते । झापामा पहिलो पटक व्यवसायीक रुपमा सौर्य उर्जा उत्पादनको परिक्षण सुरु गरिएको छ । झापा इनर्जी कम्पनी लिमिटेडले १० मेगावाट क्षमताको उर्जा मंगलबार साँझदेखि उत्पादन परिक्षण सुरु गरेको हो । 

यसबाट वार्षिक एक करोड ७६ लाख १० हजार युनिट विजुली उत्पादन हुनेछ । शिवसताक्षी नगरपालिका ४ मा रहेको परियोजनाबाट उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणको बुलोचोक शव स्टेशनमा जडान गरेर परिक्षण सुरु गरिएको कम्पनीका कार्यक्रम अधिकृत नारायण प्रसाद पोखरेलले बताउनुभएको छ । मंगलबार साँझ ६ बजे शव स्टेशनमा जडान गरिएको परिक्षण सफल बनेको छ ।

लगातर १५ दिनसम्म परीक्षणकालिन उत्पादन हुने र त्यसपछि व्यवसायीक रुपमा नै उत्पादन हुने पोखरेलले जनाउनुभयो । १५ दिनपछि विद्युत प्राधिकरणले खरिद सम्झौता अनुसार खरिद गर्ने उहाँले बताउनुभयो । “१५ दिन परीक्षण अवधिको विद्युत निशुल्क हुनेछ”, पोखरेलले भन्नुभयो ।

नेपाल विद्युत प्राधिकरण र झापा ईनर्जीबीच खरिदका लागि यसअघि नै सम्झौता भइसकेकाले उत्पादित उर्जाबाट १५ दिनपछि नै आम्दानी दिन सुरु गर्नेछ । प्रतियूनिट ७ रुपियाँ ३० पैसाका दरले विद्युत प्राधिरकणसँग खरिद सम्झौता भएको जनाईएको छ । प्राधिकरणसँग २०७८ मङ्सिर १२ मा विद्युत खरिदको सम्झौता भएको झापा इनर्जीले जनाएको छ।

माछापुच्छ्रे र सिभिल बैंकको ७५ प्रतिशत र जनताको २५ प्रतिशत गरेर ८१ करोडको लगानीमा यो उर्जा परियोजना सञ्चालनमा आएको हो । परियोजना स्थलबाट नेपाल विद्युत प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटरको दुरीमा रहेको छ । “उत्पादित सौर्य विद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि झापा इनर्जी आफैँले ९६० मिटर प्रशारण लाइन बनाएका छाैँ”, पोखरेलले जनाउनुभयो ।

‘सुखी नेपाल, समृद्ध नेपाल निर्माण’ अभियानमा योगदान पु¥याउने उद्देश्यले लामो छलफलपछि काठमाडौं लगायत विभिन्न क्षेत्र र विदेशबाट समेत बसोबास गर्दै आएका झापावासीले केही आयोजनामा सामूहिक रूपमा काम गर्ने संयुक्त पहल अनुसार यो परियोजना सफल बनेको यसका अगुवाइ गर्नुभएका प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बुले बताउनुभयो ।

आयोजनालाई ऊर्जा उत्पादन सहित थप प्रभावकारी बनाउन कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजनाहरू अगाडी बढाइने आफूहरुको परिकल्पना रहेको लिम्बुले जनाउनु भएको छ । फूलबारी, मत्स्यपालन, रिसोर्ट, खेलकुद मैदान लगायतका योजनाहरु पनि अब सुरु हुने उहाँको भनाइ छ । gorkhapatra

Leave a Reply

Your email address will not be published. Required fields are marked *