प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौँ(जस)–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको दाबी गर्दै आएको छ ।


भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लागेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।


मंगलबार राष्ट्रको नाममा विशेष सम्बोधन गरेर सरकारले एक वर्षको अवधिमा गरेका कामको फेहरिस्त सार्वजनिक गर्न लागेका प्रधानमन्त्रीले सरकारको कामलाई अझ गति दिन चाहेको बताउँदै आएका छन् । त्यसका लागि मन्त्रिपरिषद् नै पुर्नगठन गर्नेसम्मको तयारीमा प्रधानमन्त्री देखिन्छन् । प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक शुक्रबार मोरङको मिक्लाजुङ–५ मा माओवादीले आयोजना गरेको आमसभा पनि मन्त्रीहरू फेरेर भए पनि परिणाम दिने गरी काम गर्ने बताएका थिए ।


आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने उनको भनाइ थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्य एक वर्षको अवधिमा यातायात पूर्वाधार र सहरी विकासका साथसाथै समग्र क्षेत्रमा सरकारले उल्लेख्य काम गरेको दाबी गर्छन् । प्रधानमन्त्रीले कामलाई अझ गति दिन चाहेको भन्दै उनले सोहीअनुसार सरकार तयारीमा रहेको उनले बताए ।


प्रधानमन्त्री प्रचण्डले आफ्नो एक बर्षे कार्यकालको समीक्षा गरेको र सरकारमा सामेल मन्त्री परिवर्तन गर्ने त निश्चित रहेको यतिबेला राजनीतक वृत्तमा चर्चामा छ । यसका लागि उनले मन्त्रीहरुसँग वर्षदिनको प्रगति विवरण माग्दै राम्रो काम गर्न नसकेका मन्त्रीहरुलाई परिवर्तन गर्ने सन्देश दिइसकेका छन् । हिलेको सत्ता गठबन्धनमा कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीका आकांक्षी छन् । उनीहरुले प्रचण्डपछि पालैपालो प्रधानमन्त्री बन्ने सहमति समेत गरेका छन् । सो सहमति अनुसार प्रचण्ड कम्तिमा २ बर्ष प्रधानमन्त्री बन्ने छन् भने त्यसपछि नेपाल र देउवा प्रधानमन्त्री बन्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *