भन्सार विभाग घेराउ गर्दै आजपा

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कमिशनको नाममा भईरहेको राजस्वको लुटधन्दा बन्द हुनुपर्ने बताएका छन् । काठमाडौंको अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा आजपा निकटको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचार बढदै गएको बताउँदै उनले भ्रष्टाचार विरुद्ध हुने आन्दोलनमा सहभागि हुन आह्वान गरे । सुराकीका नाममा भन्सार कार्यालयले दिने गरेको ४५ प्रतिशत कमिसनको व्यवस्था भन्सार नियमावलीबाट हटाउनु पर्ने उनले बताए । भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको प्रावधान खारेजका लागि आजपाले आन्दोलन गर्दै आएको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत सुराकी तथा कमिसनको लुटकारी व्यवस्थाका कारण हजारौं सर्वसाधारण अन्यायमा परिरहेको उल्लेख गर्दै यो व्यवस्था तत्काल हटाउन साहले जोड दिएका छन् । यसैबीच आम सम्पर्क मञ्चको सो राष्ट्रिय भेलाले १ पुसदेखी भन्सार विभाग घेराउँ तथा धर्ना दिन निर्णय गरेको छ ।

भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खारेजीको मागसहित १ पुसदेखी भन्सार विभाग घेराउँ तथा धर्ना दिने निर्णय भएको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए । सम्पन्न सो भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रिय समिति एवं मधेश प्रदेश कमिटीको पदाधिकारी समेत घोषणा गरेको छ । सोही कार्यक्रमका बीच नेकपा (एमाले) धादिङ जिल्लाकी नेतृ देवी पण्डित, नेपाली कांग्रेस सिरहा जिल्लाका नेता सत्यनारायण मण्डल लागायतका नेता कार्यकर्ताहरु आजपा प्रवेश गरेका छन् । नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गर्दै अगामी राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *