पूर्वगृहमन्त्री खाणलाई थुनामा राख्ने कि नराख्ने भन्ने निर्णय आज हुँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको पुनरावेदनमाथि आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा आज(बिहीबार) उनको मुद्दाको सुनुवाइ हुने भएको हो ।

यस इजलासले उनलाई पुर्पक्षको लागि थुनामा राख्ने कि नराख्ने भन्ने निर्णय गर्नेछ । जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्नेछ । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । तर, खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *