बन्दीपुरमा व्यवसायिक बाख्रापालन तालिम

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले किसानहरुलाई व्यावसायिक बाख्रापालन कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण थालेको छ । बाख्रापालन पेशालाई व्यावसायिक रुपमै कसरी अगाडि बढाउँने र राम्रो आम्दानी गर्ने भन्ने बारेमा नार्कले किसानहरुलाई प्रशिक्षण दिइरहेको छ । तनहुँको बन्दीपुरमा राष्ट्रिय स्तरको व्यवसायिक बाख्रापालन सम्बन्धि आवासीय तालिम भइरहेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले आठ दिने व्यवसायिक बाख्रापालन सम्बन्धि आवासीय तालिम सञ्चालन गरेको छ । सो तालिममा सातै प्रदेशका २० जना किसानहरु सहभागि रहेका छन् ।

नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डेले तालिमको उद्धघाटन गर्दै यो कार्यक्रम बाख्रा पालन व्यवसायमा संलग्न व्यावसायिक किसानका लागि निकै महत्वपुर्ण भएको बताए । तालिम पश्चात व्यवसायिक बाख्रापालनका लागि किसानलाई थप ज्ञान प्राप्त भई बाख्रापालनलाई थप व्यवस्थित बनाउँन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका संयोजक राजु कँडेलले नार्कद्धारा विकास गरिएका नवीनतम प्रविधिहरुको समेत जानकारी समावेस गरी तालिम दिने काम भइरहेको बताए । यो तालिम प्राप्त कृषक आफ्नो समाजको लागि व्यावसायिक कृषकको प्रतिनिधिको साथ साथै दिशा निर्देशकको रुपमा समेत काम गर्ने विश्वास उनले व्यक्त गरे । आठ दिनसम्म चल्ने यो तालिममा प्रत्येक प्रदेशबाट कम्तिमा २ जनाका दरले किसानहरुलाई सहभागिता गराइएको कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्य बताए । तालिमको समापन मंगलबार हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *