आरती साह मृत्यु प्रकरण : श्रीमानलाई थुनामा पठाउन आदेश

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान् साहको संलग्नता रहेको भन्दै थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले बुधबार श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।

यसैगरी, आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको छ । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवै जना थुनाबाहिर थिए । 

आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको थियो । उनीहरुले मोतीबाबु साहको संलग्नताको आरोप लगाएका थिए । आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले अदालतमा जाहेरी दिएको थियो ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘अब निज प्रतिवादीका हकमा पछि बुझिएका प्रमाणबाट ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाको किनारा नलागेसम्म मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ (१) (क) बमोजिम मुद्दाको पुर्पक्षको लागी थुनामा राखी कानुनबमोजिम गर्नु ।’ 

प्रमाणहरूको रोहमा विचार गर्दा आरती साहको मृत्यु प्रतिवादी मोतीबाबु साहको कर्तव्यबाट भएको रहेछ भनी विश्वास गर्नु पर्ने अवस्था देखिएको अदालतको ठहर छ । 

शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणमा झुन्डिएर (सम्भावित आत्महत्याको प्रकृति) भनी उल्लेख भएकोमा सोही प्रतिवेदनमा हाइओइड बोन थाइराइड कार्टिलेज इन्ट्याक्ट भनी उल्लेख भएकोबाट झुन्डिएर भन्ने चिकित्सकको राय पछि थप परीक्षणबाट पुष्टि नभएसम्म अकाट्य प्रमाणको रूपमा ग्रहण गर्न नसकिने अवस्था रहेको आदेशमा उल्लेख छ । 

शव परीक्षण प्रतिवेदनमा सम्भावित आत्महत्याको प्रकृति भनी उल्लेख भएको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिलबाट छानबिन हुँदा सोही काउन्सिलको च.नं. १४७/०८०/०८४ मिति २०८०/०५/०३ को पत्रबाट त्यस्तो उल्लेखन त्रुटिपूर्ण रहेको भन्ने देखिएको आदेशमा भनिएको छ । 

‘घटनास्थल मुचुल्काबाट घटना भएको कोठामा भुइँदेखि छतसम्म १० फिट र पलङको सतह देखि सिलिङ फ्यानको उचाइ ७ फिट ५ इन्च रहेको देखिएकोमा मृतकले झुन्डिने प्रयोजनको लागी कुनै टुल, मेच वा अन्य वस्तु प्रयोग गरेको भन्ने पनि देखिँदै,’ आदेशमा भनिएको छ ।   

मौकामा कागज गर्ने प्रदीप कुमार साह, शंकर कुमार साह र दिलीप कुमार यादवले पनि मृतकलाई प्रतिवादीले कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने ब्यहोरा लेखाएको देखिएको पनि जिकिर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *