लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने माग गर्दै आजपाद्धारा जनकपुरमा प्रदर्शन

जनकपुरधाम । आम जनता पार्टी (आजपा)ले बिभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव उपेन्द्र साहको नेतृत्वमा जनकपुरधामको बारहविग्घाबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषासम्म पुगेको थियो । सो क्रममा जनकपुर स्थित राष्ट्र बैंकको कार्यालय अगाडी समेत प्रदर्शनकारीहरुले नारावाजी गरेका थिए । आजपा मधेस प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनमा सहभागिहरुले आफूहरुको माग सम्बोधन नभए यो भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागि आजपाका महासचिव साहले आफूहरुको माग गम्भिर रुपमा लिएर सम्बोधन नगरिए मधेस बन्द गर्नुपर्ने चेतावनी सरकारलाई दिएका छन् ।

‘हामीले शान्तिपुर्ण रुपमा विरोधका कार्यक्रम गरिरहेका छौं । किसान, सर्वसधारणदेखी आम जनताका माग सम्बोधन गर्नमा सरकारले ढिलाई गरेमा हामी मधेस बन्दसम्मको कडा आन्दोलनका कार्यक्रम ल्याउँन बाध्य हुनेछौं । र त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ’ आजपा महासचिव साहले भने । आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने, किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको छ ।

यसैगरी आजपाले मधेसमा भईरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने लगायतका माग गरेको छ । आजपा महासचिव साहले पार्टीको हालै सम्पन्न स्थायी कमिटीको बैठक र मधेस प्रदेश कमिटीको बैठकको निर्णय अनुसार सर्वसधारणका मुद्धा सरकार समक्ष पुर्याउँनका लागि पार्टीले संघर्षका बिभिन्न कार्यक्रमहरु अगाडी बढाउँने निर्णय अनुसार विरोध प्रदर्शन गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *