बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने माग गर्दै आजपाले जनकपुरमा प्रदर्शन गर्ने

जनकपुरधाम । आम जनता पार्टी (आजपा) ले बिभिन्न माग गर्दै २० मंसिरमा मधेस प्रदेशको जनकपुरधाममा प्रदर्शन गर्ने निर्णय गरेको छ । आजपा मधेस प्रदेश कमिटीको आज जनकपुरधाममा आज बसेको बैठकले प्रदर्शन गर्ने निर्णय गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । बैठकमा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह सहितका नेताहरुको विशेष सहभागिता रहेको थियो । आजपाले नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा दिनुपर्ने माग गर्दै प्रदर्शन गर्न लागेको हो । यसैगरी आजपाले मधेसमा भईरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई जनकारवाही गर्ने अभियान समेत चलाउने निर्णय गरेकोछ । मधेस प्रदेश सरकारमा सहभागि मन्त्री, सांसदहरुले सरकारी योजना र बजेटको खरिद बिक्री गर्दै भ्रष्टाचारलाई बढावा दिइरहेको सर्वसधारणले आरोप लगाउँदै आएका छन् । त्यसैले त्यस्ता भ्रष्टाचारीलाई जनकारवाही गर्नुपर्ने निर्णय समेत बैठकले गरेको बताइएको छ ।

आजपा महासचिव उपेन्द्र साहले पार्टीको हालै सम्पन्न स्थायी कमिटीको बैठक र प्रदेश कमिटीको बैठकको निर्णय अनुसार सर्वसधारणका मुद्धा सरकार समक्ष पुर्याउँनका लागि पार्टीले संघर्षका बिभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताए । आजपा अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले बैठकलाई सम्बोधन गर्दै नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गराउँन अब सडक संघर्षको बिकल्प नभएको बताए । किसान, सर्वसधारणहरुले बैंकबाट ऋण पाउँन नसक्नु तर लुटेरा बर्गले सजिलै ऋण पाउँनुमा बैंकहरुको दोषी रहेको आरोप लगाए । यसैगरी अध्यक्ष साहले लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने तथा किसानहरुलाई सहुलियत कर्जा दिनुपर्ने भन्दै भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही समातेर सरकारलाई बुझाउँनुपर्ने बताए । मधेसमा भईरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई जनकारवाही गर्न उनले आह्वान समेत गरेका छन् । बैदेशिक रोजगार पीडितहरुको समस्या सम्बोधन एवं उनीहरुको मागलाई मध्यनजर गर्दै दलालहरुलाई अब जनताले नै जनकारवाही गर्नुपर्ने उनले बताए ।

Enter

Leave a Reply

Your email address will not be published. Required fields are marked *