आम जनता पार्टीको स्थायी कमिटी बैठक सुरु हुदै

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा आज विहान ११ बजे बैठक बस्दैछ । आजको राजनीतिक, आर्थिक संकटका बीचमा बस्न लागेको बैठकमा राजनीतिक नेतृत्वको विकल्पको बारेमा समेत छलफल हुने बताइएको छ । पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको धारणा निर्माणका लागि बैठक बस्न लागेको बताइएको छ । बैठकमा देशको समग्र राजनीति, आर्थिक र समाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने आजपाका केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए । ‘देश यतिवेला संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ।

राजनीतिक अस्थिरता कायमै छ । सरकार–सरकारबीच द्वन्द्वको अवस्था छ । राजनीतिक द्वन्द्व चर्को छ । जनता निराश छन् । प्रमुख पार्टीका नेताहरु अनिर्णयको बन्दी भई खुलेआम भ्रष्टाचारमा लिप्त छन्’ सापकोटाले भने, ‘उनीहरुले आफूलाई शासक वर्गमा परिणत गरेका छन् । देशको आर्थिक अवस्था दयनीय छ । बजारमा पैसाको हाहाकार छ । एकातिर देशबाट वर्षेनि खरबौं पूँजी विदेश पलायन भैरहेको छ भने अर्कोतिर विदेशी पूँजी नेपाल भित्रिन सकेको छैन् ।’ राज्यको नेतृत्वमा भगौडा वर्गको हालीमुहाली रहेको आरोप आजपाले लगाउँदै आएको छ । देश आर्थिक रुपमा क्रमशः जर्जर बन्दै गईरहेको जनाउँदै आजपाले साम्प्रादायिकताले नेपाली सामाजिक सम्बन्धहरू विथोलिंदै गएको जनाएको छ । सोहीबीच देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था गम्भीर बन्दै गएको विषयमा पार्टीमा गम्भिर छलफल थालिएको छ । आजपाले यि सबै संकटको प्रमुख कारण भनेको नै विद्यमान शासन व्यवस्था र मुख्तयः दलतन्त्र रहेको जनाएको छ । ‘यसको विकल्प खोज्न जरूरी भैसकेको छ । यी र यस्ता संकटको समिक्षा तथा वर्तमान व्यवस्था र नेतृत्वको विकल्पबारे पार्टीको आधिकारिक धारणा तथा ठोस योजना निर्माणको आवश्यकता छ’ सापकोटाले भने ।

Enter

Subhash

Leave a Reply

Your email address will not be published. Required fields are marked *