सर्लाहीको नाढीमन ताल गौचरनमा परिणत

सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल नाढीमन ताल अहिले गौचरनमा परिणत भएको छ । १२ फिट गहिराइको ताल सुकेर अहिले सर्वसाधारणहरुका लागि खेलमैदान, घाँसे भूमि तथा गाईवस्तुको चरनस्थल भएको छ । यसरी ताल पूर्णरुपमा सुक्दा ताल क्षेत्रमा बसोबास गर्ने पक्षी, जलचर तथा अन्य विभिन्न प्रजातिका जीवजन्तुसमेत लोप भएका छन् ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले ताल सुकेको नभइ ठेकेदारले सुकाएको बताए । उनले भने, ‘स्थानीय ठेकेदार दुलार मुखियाले गत वैशाख ६ गतेसम्मका लागि माछा पालन गर्न ताल ठेक्कामा लिएका थिए । माछा निकाल्न उनले तालको पानी बाहिर निकाल्न थालेपछि स्थानीय तहले रोक लगाए । स्थानीय तहको अवरोधपछि ठेकेदार मुखियाले जिल्ला अदालतमा मुद्दा दर्ता गराए । जिल्ला अदालत सर्लाहीले ठेकेदार मुखियाको ठेक्का पट्टा वैशाख ६ गतेसम्म रहेको हुनाले तालबाट पानी निकाल्न कुनै किसिमको अवरोध नगर्न अन्तरिम आदेश दिएपछि ठेकेदार मुखियाले तालको पानी निकालेपछि ताल अहिले सुख्खा भएको छ ।’

२०७२ साल चैतमा नेपाली सेनाले तालमा विभिन्न पर्यटकीय संरचना निर्माण गरी तत्कालीन ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको थियो । त्यसपछि तालमा डुंगा चढ्नेलगायत ताल अवलोकनका लागि पुग्नेहरू ह्वात्तै बढेको भएपनि पछिल्लो केही समययता ताल सुकेर गौचरनमा परिणत भएपछि अहिले सुनसान देखिएको छ । ५२ बिघामा फैलिएको यो ताल अहिले अतिक्रमणका कारण करिब ३२ बिघामा खुम्चिएको छ ।

शुरुमा टाढा–टाढाका मानिसहरू ताल घुम्न आउँदा गाउँमा चहलपहल बढेपछि खुसी भएका स्थानीय अहिले निराश भएका छन् । स्थानीय तहसहित प्रदेश सरकार, पर्यटन मन्त्रालय र पुरातत्व विभागले पनि संरक्षणमा जोड दिइ ओझेलमा परेको पर्यटकीय स्थलको विकास गर्न जरुरी रहेको स्थानीयको भनाइ छ ।Madhyanha

Leave a Reply

Your email address will not be published. Required fields are marked *