एलआईसी नेपाल लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधाममा पीडितले गरे तालाबन्दी

एलआईसी नेपाल लिमिटेडले अभिकर्ता र बीमाधारीको एक करोड भन्दा बढी रकम ठगी गरेको आरोप लगाउँदै मधेश प्रदेश कार्यालय जनकपुरधाममा तालाबन्दी गरिएको छ । अनियमितता प्रकरणविरुद्ध निरन्तररुपमा आवाज उठाउँदै आएका  निलम्बित अभिकर्ता सत्येन्द्र पाण्डेले मंगलबार एलआईसीको प्रादेशिक कार्यालय जनकपुरधाममा तालाबन्दी गरेर विरोध प्रदर्शन गरेका हुन् । लामो समयदेखि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नहभएपछि एलआईसी नेपाल लिमिटेडको मधेश प्रदेश कार्यालय जनकपुरधाममा ताला लगाएको उनले बताए ।

उनले एलआईसी नेपाल लिमिटेडले गरेको गलत एवम् गैर वित्तीय कार्यलाई निस्तेज गर्नुका साथै गलत गर्ने कार्यलाई प्रोत्साहन दिँदै पृष्ठपोषक बनेपछि गत साउन महिनादेखि निरन्तररुपमा आवाज उठाउदै आएका थिए । 

निलम्बित अभिकर्ता पाण्डेले सन् २०२० मा ९५ जनाको बीमा खोलेर सम्पूर्ण कागजातसहित रकम एलआईसी नेपाल लिमिटेडको गौर शाखामा जम्मा गराएका थिए । तर तत्कालीन शाखा प्रमुख विपिनकुमार साह र एलआईसी नेपाल लिमिटेडमा मार्केटिङ एचओडी रहेका प्रकाशबहादुर उपाध्याय तथा कम्पनीका सचिव एवम् सुचना अधिकारी सुदर्शन गिरीको आन्तरिक साँठगाँठमा उक्त बीमाधारीको सम्पूर्ण कागजातहरु नष्ट गराइएको उनको आरोप छ ।

सन् २०२० मा ९५ जनाको बीमा खोलेर एक करोड भन्दा बढी रकम अन्य नक्कली व्यक्तिको नाम खडा गरेर हिनामिना गरेको गम्भीर आरोप निलम्बित अभिकर्ता पाण्डेले उनीहरुमाथि लगाएका छन् ।

एलआईसी नेपाल लिमिटेडमा देखापरेको बेथितिबारे सीईओ प्रणयकुमारसँग बुझ्दा उनले आफूहरुले निकै गम्भीर भएर अनुसन्धान गरिरहेकाे बताए । उनले चाँडै नतिजा सार्वजनिक गर्ने पनि बताए । अनुसन्धानको नाममा पटक-पटक गौर, विरगञ्ज, जनकपुरसम्म पुगेर अनुसन्धान गर्ने एलआईसीका पदाधिकारीहरु कम्पनीकै रकमबाट घुमफिर गरिरहेपनि आफ्नो समस्या समाधान हुन नसकेको गुनासो पीडित पाण्डेको छ ।

यस समस्याबारे स-प्रमाणसहित बीमा प्राधिकरणसहित विभिन्न निकायमा उजुरी गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै पीडित पाण्डेले न्याय नपाएसम्म एलआईसीको बेथितिविरुद्ध आफूले निरन्तररुपमा आवाज उठाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *