उदयपुरमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध

उदयपुरमा सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार जिल्लाभरका सार्वजनिक स्थलहरु, सरकारी कार्यालय, पाटी पौवा, बस काउन्टर, प्रतीक्षालय, वृद्धवृद्धा आश्रम, विद्यालय, विमानस्थल, चमेनागृहलगायतका ठाउँमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरिएको जनाएको छ ।

सूचनामा सार्वजनिक स्थलमा आम नागरिकको स्वास्थ्य र धनजनको क्षतिलाई मध्यनजर गरेर चुरोट, बिडी, खैनी, तमाखु, हुक्कालगायत अन्य सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरिएको उल्लेख छ । गत कत्तिक १८ गते त्रियुगा नगरपालिकामा बसेको सर्वदलीय बैठकले पारित गरेको साझा प्रतिबद्धता पत्रमा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न-गराउने निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरले सूचना जारी गरेको हो ।

विद्यालय तथा अस्पताल वरिपरिको १ किलोमिटर क्षेत्रमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनमा निषेधसँगै प्रयोग गरिएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ अनुसार कारबाही गरिने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ प्रयोगमा प्रोत्साहन नगर्न-नगराउन प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकाय र प्रहरी प्रशासन, राजनीतिक दल, नगरपालिकालगायतले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *